काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले चुनावी प्रचार अभियानलाई तीव्र पारेका छन् । रास्वपा नेता बालेन्द्र साह बालेनले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपछि दबाबमा परेका ओलीले झापा ५ छाडेका छैनन् ।
उम्मेदवारी मनोनयन दर्ता गरेयता एक दुई दिन अपवादबाहेक ओली निर्वाचन क्षेत्रमै छन् । उनले समूहमा मतदातालाई भेट्ने गरेका छन् । कहिले व्यवसायी, कहिले धार्मिक अगुवा त कहिले विभिन्न समुदायका मतदातालाई उनले समूहमा भेट्ने गरेका छन् ।
यसैक्रममा उनले शुक्रबार ससाना विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । भदौ २३ को जेनजी आन्दोलनमा निहत्था विद्यार्थीको गाली हानी हत्या गर्दा तत्कालीन प्रधानमन्त्री ओलीले अहिलेसम्म समवेदनासमेत नदिएको आरोप लागिरहेका बेला उनले शुक्रबार विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् । सो क्रममा उनले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
कुनै पनि प्रकारका धाँधली लोकतान्त्रिक शक्तिहरूलाई मान्य नहुने उनको भनाइ छ । ‘यो निर्वाचन संसद्को उपस्थितिको लागि गर्न लागिएको होइन । भएको संसद् भंग गरेर अर्को संसद् चाहिएको भनेको आगो लगाउनेहरूको सरकार बनाउन गर्न लागिएको हो,’ उनले भने, ‘हामी जस्तोसुकै चुनौती पनि सामना गर्छौं । हामी चुनावमा भाग लिन्छौं । हाम्रो सर्त अहिले पनि चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्छ भन्ने छ । राज्य संयन्त्र निष्पक्ष र तटस्थ रहनुपर्छ । निर्वाचनमा भाग लिन्छौं तर, धाँधली स्वीकार्दैनौँ । यदि धाँधली गरियो भने लोकतान्त्रिक शक्तिहरूले परिणाम स्वीकार गर्दैनौँ ।’
ओलीले विद्यार्थीसँग मसिनो गरी छलफल गरेका थिए । उनीहरूका भावना र संवेदना बुझ्ने प्रयास गरेका थिए ।












प्रतिक्रिया