अरुण नदीको पुल भाँचिँदा टिपर दुर्घटना, चालक घाइते


काठमाडौँ – मकालु गाउँपालिका–५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा शनिबार बिहान करिब साढे ८ बजे एक टिपर दुर्घटनामा परेको छ। पुल भत्किँदै गर्दा गुडिरहेको ०३–००१ क २९२० नम्बरको टिपर नदीतर्फ खस्दा चालक घाइते भएका हुन्। नुम प्रहरी चौकी का अनुसार घाइते हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्।

उनलाई तत्काल उद्धार गरी नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको र स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ।

संखुवासभाका पत्रकार भवीन खड्काका अनुसार उक्त टिपर मकालु–२ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि निर्माण सामग्री बोकेर जाँदै गरेको थियो। दुर्घटनास्थल जिल्ला सदरमुकाम खाँदबारी बाट करिब ४९ किलोमिटर टाढा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।