ओलीले भिडियाे सन्देश जारी गर्दै भने– अब जनताले स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब कित्ताकाट गर्ने बेला आएको बताएका छन् । मतदानको चार दिनअघि आइतबार भिडियो सन्देश जारी गर्दै उनले अहिलेकै अवस्थामा रहेर कतै नपुगिने भन्दै कित्ताकाट हुनुपर्ने अवस्था आएको बताए ।

ओलीले आमजनतालाई ठण्डा दिमागले देश बचाउने कि नबचाउने भनेर सोच्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर अहिले त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै देश बचाउनको लागि ठण्डा दिमागले सोच्नुपर्ने बताए ।

ओलीले अब जनताले एउटा बाटो रोज्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ, बनाउने बाटो कि भत्काउने ? निर्माणको कि ध्वंशको बाटो ? मलाई थाहा छ थुप्रै भ्रमहरु फैलाइएका छन् । तपाईंसँग मप्रति गुनासा पनि छन् । प्रश्न पनि छन् । मेरा कमीकमजोरी पनि होलान् । तर, तपाईंहरुलाई यो पनि थाहा छ कि मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन ।र, गर्दिनँ,’ उनले भनेका छन् ।

आफू नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गराई देशमा विध्वंश मच्चाइएको टिप्पणी पनि उनले गरेका छन् । ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन ।’

भदौको जेनजी आन्दोलनपछिको जटिल अवस्थाबारे ओलीले टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाका नेता बालेन्द्र साह बालेन आएपछि दबाब महसुस गरेका ओलीले भनेका छन्, ‘इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपथ्र्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् । मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् । यसैपनि मेरा त बाँच्ने दिन बाँचिसकेका दिनभन्दा कम छन्, तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढि भएकाहरुको लागि लड्दैछु । त्यसैले मैले देश पहिले भन्दै आएको छु । अब तपाईंहरुले पनि देश पहिले भन्ने दिन आएको छ ।’

ओलीले आफूले देश पहिले भनेको भन्नु संविधान र नियम पहिले भनेको भनेर स्पष्ट पारेका छन् । देश पहिले भनेको भूमि र जनता पहिले भनेको उनको भनाइ छ । संविधान बचेमात्रै नागरिकको अधिकार बच्ने उनको तर्क छ । आज आफूहरुलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको पनि उनले भनेका छन् ।