सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहको उम्मेदवारी संकटमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सर्लाही ३ का उम्मेदवार नरेन्द्र साह कलवारको उम्मेदवारी पनि संकटमा परेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएपछि उनको उम्मेदवारी संकटमा परेको हो ।

कालोसूचीमा परेको भन्दै धनुषा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी मंगलबार खारेज भएको थियो । कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ । निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्ने गरेको छ ।

अघिल्लो निर्वाचनमा माओवादीबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए । संविधानसभामा पनि तराई मधेश सदभावना पार्टीबाट सभासद् भनेका थिए ।

क्यासिनो सञ्चालक साहमाथि महेन्द्रनगरमा क्यासिनो चलाउँदा पाँच करोड लिएर ठगी गरेको आरोप लागेको छ ।