रामेछापमा प्रलोपाले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति


काठमाडौं । नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच रामेछापमा चुनावी तालमेलको सहमति भएको छ ।

प्रलोपाले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेसलाई सघाउने सहमति गरेको हो ।

समानुपातिकतर्फ भने आआफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने समझदारी भएको सहमति पत्रमा उल्लेख छ । सहमतिपछि अब प्रलोपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसका रामचन्द्र खड्कालाई सहयोग गर्नेछन् ।

रामेछापमा एमालेबाट माधव ढुंगेल, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी, राप्रपाबाट गोरे तामाङलगायत उम्मेदवार छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा अघिल्लो निर्वाचनमा कांग्रेसका कान्छाराम तामाङ विजयी भएका थिए । तर यसपटक उनले टिकट पाएनन् । आफूले टिकट नपाए पनि उनी रामेछापमा कांग्रेस जिताउन खटिएका छन् ।