काठमाडौं । अभिनेत्री एवं काठमाडौं ५ मा गतिशील नेपाल पार्टीकी उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो चरित्रमाथि प्रश्न उठाइएपछि रिसाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् राजनीतिमा लागेकै कारण आफ्नो चरित्रमाथि प्रश्न उठाइएको बताएकी हुन् ।
निशाले एक साताअघि पनि महिला राजनीतिमा लागेपछि क्षमताभन्दा पनि उसको निजी जीवनको चियोचर्चा बढी हुने गरेको बताउँदै केही अश्लील टिप्पणीको स्क्रिनसर्ट सार्वजनिक गरेकी थिइन् । आज भने उनले त्यस्ता टिप्पणी गर्ने व्यक्तिहरुको नामसहित स्क्रिनसट सार्वजनिक गरेकी छन् ।
‘अति गर्नु,अत्याचार नगर्नू’, उनले भनेकी छन्, ‘म यी शब्दहरूबाट विचलित हुँदिन, तर म चुप पनि बस्दिनँ, शब्दहरू हल्का हुँदैनन्, ती समाजको सोच बोकेर आउँछन्।’
निशाले सार्वजनिक गरेको स्क्रिनसटमा प्रल्हाद घिमिरे नाम गरेका प्रयोगकर्ताले ‘आफ्नो छोरीले हेर्न नसक्ने लुगा लगाएर बजार हिँड्ने आइमाई, यसले जिती भने नेपाललाई थाइल्याण्ड बनाइदिन्छे होला’ भन्ने टिप्पणी गरेको देखिन्छ । त्यस्तै, दिपेन्द्रजंग क्षेत्रीले पनि ‘एउटा पोइ सम्हाल्न नसक्नेले देश सम्हाल्छ भनेर पत्याइदिनुपर्ने ?’ भनेका छन् ।
निशाले यस्ता टिप्पणी गर्ने सबैको नाम खाता सार्वजनिक गर्दै अघि थपेकी छन्, ‘हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौँ ? असहमति गर्ने तर सम्मान जोगाउने कि असहमतिलाई अपमानमा बदल्ने ?’
निशाले आफूलाई समानुपातिकमा बस्न भने पनि प्रत्यक्षमै उम्मेदवारी दिएर चुनाव लड्न चाहेको बताएकी थिइन् । सोही कारण गतिशील पार्टीले उनलाई काठमाडौं ५ बाट उम्मेदवार बनाएको हो ।












प्रतिक्रिया