संक्रमणकालमा पूर्वप्रधानन्यायाधीश र वकिलले गराए निर्वाचन


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक नागरिकको मतले आफ्नो भविष्य सुनिश्चित गर्ने बताएकी छिन्। मतदान सुरु भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।

‘मतदान केन्द्रमा पुगेर आफ्नो बहुमूल्य मताधिकार प्रयोग गर्न म हार्दिक आग्रह गर्छु। हाम्रो भविष्य निर्धारण गर्न तपाईंको प्रत्येक मत महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनको लागि तपाईंले देखाउनुभएको धैर्य र समझदारीको लागि धन्यवाद,’ उनले भनेकी छन् ।

जेनजी विद्रोहपछि ६ महिनामै निर्वाचन हुन लागेको हो । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले यस्तो बेला चुनाव गराएको हो । प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन वकिलसमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बलियो साथ दिएका छन् । यो ६ महिनामा सबै दललाई सहमतिमा ल्याएर चुनाव गराउनसक्नु सामान्य विषय होइन । यसमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल सफल बनेका छन् ।

गृहमन्त्री अर्यालले मतदातालाई योग्य जनप्रतिनिधि र दल छान्न आग्रह गरेका छन् । लहडको भरमा मतदान गर्न हुँदैन, राजनीतिक संस्कार भएकाहरूलाई मत दिनुपर्छ, राजनीतिक संस्कार नभएका व्यक्ति संसद् अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । उनीहरूले प्रणाली भत्काउन सक्छन् । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो । जसलाई मत दिए पनि राजनीतिक संस्कारको माग गर्न उनले अपिलसमेत गरेका छन् ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ ९प्रत्यक्ष०तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।