अब पाँच वर्षसम्म संसदमा सुनिने छैन गगन थापाको बुलन्द आवाज


काठमाडौं – यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा र नेकपाबाहेक सबै प्रमुख दलका अध्यक्ष पराजित बनेका छन् । जसकारण आगामी पाँच वर्षसम्म प्रतिनिधिसभामा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा सहसंयोजक माधवकुमार नेपाललाई देख्न पाइने छैन ।

यसपटक रास्वपा सभापति रवि लामिछाने र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र विजयी भए । लामिछाने चितवन २ बाट कांग्रेस उम्मेदवार मिनाकुमारी खरेललाई भारी मतान्तरले पराजित गर्दै संसद् प्रवेश गरेका छन् । यद्यपि उनले सांसद पदको शपथ लिन पाउने कि नपाउने भन्ने अझै खुलिसकेको छैन ।

प्रचण्ड रुकुम पूर्वबाट विजयी भए । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेका थिए । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत मात्र खसेको थियो ।

एमाले अध्यक्ष ओली झापा ५ मा रास्वपा उम्मेदवार बालेन्द्र साह बालेनसँग ५० हजार मतान्तरले पराजित भए । यसअघि ओली २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।

कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । २०६४ देखि निरन्तर संसदमा देखिएका गगन अब पाँच वर्ष सदनमा बोलेको सुनिने छैनन् । आफ्नै सरकार होस् वा अन्य दलको सरकार हुँदा पनि उनले संसदमा जनताको समस्या खरो ढंगले उठाउने गर्थे ।

यस्तै, राप्रपा अध्यक्ष लिङ्देन झापा ३ मा रास्वपा उम्मेदवारबाट पराजित भए । यसपटक मधेशका कुनै पनि प्रमुख नेता निर्वाचित भएनन् । उपेन्द्र यादव, सिके राउत, राजेन्द्र महतोलगायत सबै पराजित भए ।