काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेपछि सोमबारका लागि कारोबार बन्द भएको छ । नेप्सेको ‘सर्किट ब्रेकर’ नियमअनुसार ६ प्रतिशतको वृद्धि भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार बन्द हुने व्यवस्था छ। हालै सम्पन्न निर्वाचनमा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको जादू चलेसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएपछि सेयर बजारमा हरियाली छाएको हो ।
आज बिहान ११ बजे खुलेको बजारमा लगातारको खरिद चापका कारण १२ बजेर १ मिनेट जाँदा परिसूचक ६ प्रतिशतले बढेर २,८७५।४३ को विन्दुमा पुगेपछि आजको कारोबार स्थगन भएको हो। सोमबार बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो ।
११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको थियो । नेप्से परिसूचक १३५ अंक अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको थियो ।
हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था छ ।












प्रतिक्रिया