काठमाडौं । पश्चिम एसिया र युरोपमा युद्ध चर्किरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चरहरू सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
जापानले बढ्दो क्षेत्रीय तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने रणनीतिअनुसार यो कदम चालेको हो । मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले अपग्रेड गरिएको टाइप–१२ मिसाइलहरू मार्चको अन्त्यसम्म क्याम्प केङ्गुनमा तैनाथ गरिने जानकारी दिनुभयो ।
यद्यपि तैनाथीसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । मिसाइलका लन्चर तथा अन्य सैन्य उपकरण बोकेका गाडीहरू अत्यन्त गोप्य रूपमा मध्यरातमा शिविरमा पुगेका थिए । स्थानीय बासिन्दामध्ये केहीले यस कदमको विरोध जनाउँदै शिविर बाहिर भेला भई लामो दूरीका क्षेप्यास्त्र तैनाथी रोक्नुपर्छ भन्ने नारासहित ब्यानर प्रदर्शन गरेका थिए । यस कदमप्रति विपक्षी दल तथा स्थानीय प्रशासनले पारदर्शिताको अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले यस्तो तैनाथीले क्षेत्रीय तनाव थप बढाउन सक्ने र स्थानीय क्षेत्र सम्भावित सैन्य आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् । कुमामोटोका गभर्नर ताकाशी किमुराले प्रान्तीय प्रशासनलाई औपचारिक रूपमा जानकारी नदिइएको गुनासो गर्दै पत्रकारहरूसँग भने, ‘प्रान्तलाई यसबारे कहिल्यै औपचारिक जानकारी दिइएको थिएन ।
मिडिया रिपोर्टबाट मात्र थाहा पाउनु अत्यन्त निराशाजनक हो ।’ जापानले दक्षिणपश्चिमी क्षेत्रमा सैन्य संरचना विस्तार गर्ने योजनाअन्तर्गत यो मिसाइल तैनाथीलाई तीव्रता दिएको हो । ताइवान वरपरको बदलिँदो क्षेत्रीय परिवेशलाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउने पहल गरेको हो । सोही क्रममा रक्षा मन्त्रालयले गत वर्ष मिसाइल तैनाथीको समयतालिकालाई करिब एक वर्ष अगाडि सार्ने व्यवस्था गरेको थियो ।
मित्सुबिशी हेभी इन्डस्ट्रिजले विकास तथा उत्पादन गरेको अपग्रेड गरिएको टाइप–१२ मिसाइलको मारक क्षमता करिब एक हजार किलोमिटर (६२० माइल) रहेको छ । यो दायरा पहिलेको करिब २०० किलोमिटर (१२५ माइल) क्षमताबाट निकै विस्तार गरिएको हो । यसले जापानको मुख्य भूमिबाट चीनको भूभागसम्म पुग्न सक्ने क्षमता राख्ने बताइएको छ ।
यही मिसाइल प्रणाली यस वर्षको अन्त्यतिर टोकियोको पश्चिममा रहेको सिजुओका प्रान्तस्थित क्याम्प फुजीमा पनि तैनाथ गरिने योजना रहेको छ । पछिल्ला वर्षहरूमा क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउँदै आएको छ । सोही क्रममा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुहरूमा सुरक्षा पूर्वाधार विस्तार गरिएको छ । ओकिनावा, इशिगाकी र मियाको लगायतका टापुहरूमा पीएसी–३ अवरोधक प्रणाली तथा मध्यम दूरीका सतह–देखि–हावा मिसाइल प्रणालीहरू पनि क्रमशः तैनाथ गरिएका छन् ।












प्रतिक्रिया