नयाँ सरकार नबन्दै बालेन र रविलाई विदेशी सरकार प्रमुखको बधाईको ओइरो


काठमाडौं । नयाँ सरकार नबन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई विदेशी सरकार प्रमुखबाट बधाईको ओइरो लागेको छ । चुनावअघि नै बेलायत र चुनावपछि अमेरिकाले बधाई दिएको थियो । चुनावको मतगणनापछि रास्वपाले दु्ई तिहाइ बहुमत पाएपछि भारत, बंगलादेश र भुटानका प्रधानमन्त्रीले रवि र बालेनलाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि र बालेनसँग टेलिफोन वार्ता नै गरेका छन् । मतगणनाको लगभग अन्तिम परिणामपछि मोदीले दुबैजनालाई आमनिर्वाचनमा प्राप्त विजयको निम्ति फोनमार्फत बधाई ज्ञापन गरेको फेसबुकबाट जानकारी गराएका छन् ।
‘उहाँहरू दुवैलाई व्यक्तिगत तथा निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेँ । आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै दुई देशको पारस्परिक समृद्धि,प्रगति र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएँ,’ मोदीले भनेका छन् ।

संयुक्त प्रयासबाट आगामी वर्षहरूमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको मोदीको भनाइ छ ।
यस्तै, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ५ मार्च २०२६ मा सम्पन्न निर्वाचनलाई महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गरेका छन्।

उनले उक्त निर्वाचनले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गरेको बताएका छन्। साथै बंगलादेशले नेपालसँगको दीर्घकालीन मित्रता र सहकार्यलाई नयाँ सरकारसँग मिलेर अझ सुदृढ बनाउने अपेक्षा गरेको उल्लेख गरेका छन्।

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।

‘नेपालको आमचुनावमा भारी विजय हासिल गर्नुभएकोमा बालेन शाह र रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’ प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् । हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।