सांसदले सडकमा उभिएर किताब बेचेपछि रिसाए मेयर


काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले सडक र चोकमा उभिएर किताब बेच्दा पैदलयात्रुसँग विवाद गरेको भिडियो भाइरल भएपछि आचार्यले उनको ध्यानाकर्षण गराएका छन्। उनले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन्।

आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको उच्च प्रशंसा गर्दै सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उनको उचाइलाई नसुहाउने उल्लेख गरेका छन् । ‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईँमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,’ आचार्यले भनेका छन्।

मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा गर्दै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत किताब बेच्न सकिने विकल्प प्रस्तुत गरेका छन्। ‘तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ मेयरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।ु यसले अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उनको विश्वास छ।’

म्याग्दीबाट नवनिर्वाचित सांसद पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि आफ्नो आत्मकथा देशभर बेच्दै आएका छन् ।