काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भेटिएको छ । गत माघ र फागुन महिनामा गरी चारपटक उनको नाम कालोसूचीमा दर्ता भएको देखिन्छ। कार्की हालै सिन्धुली–१ बाट निर्वाचित भएका थिए ।
२०८२ माघ १९ गते पहिलोपटक, त्यसपछि माघ २९ गते र फागुन १५ गतेसहित विभिन्न चार कारोबारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम रहेको पाइएको छ । साथै, फागुन ११ गते उनी प्रोमोटर डाइरेक्टरको रूपमा कालोसूचीमा रहेको देखिन्छ, जुन बिजु सहकारी सम्बन्धित कारोबारसँग जोडिएको छ ।
कार्कीले सिन्धुलीमा उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारमा होमिएपछि मात्रै उनको नाम कालोसूचीमा सूचीकृत हुन थालेको हो । उम्मेदवारी दर्ता हुनुअघि नै उनको नाम कालोसूचीमा रहेको भए उनी उम्मेदवार बन्नै अयोग्य ठहरिने थिए।
निर्वाचन आयोगको उम्मेदवार योग्यता सम्बन्धी प्रचलित कानुनअनुसार कालोसूचीमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न र निर्वाचित हुन अयोग्य ठहरिन्छ। यदि जालझेल गरेर उम्मेदवारी दिएको पुष्टि भएमा निर्वाचित भइसकेपछि पनि उनको पद खारेज हुन सक्ने कानुनी प्रावधान छ। उनको उम्मेदवारी दर्ता भएपछि मात्र कालोसूचीमा पर्न थालेको, तर निर्वाचित हुनुभन्दा अगाडि कालोसूचीमा परिसकेकोले उजुरी परे अदालतले अन्तिम फैसला गर्ने निर्वाचित अधिकृतले बताए ।
यसअघि पनि कालोसूचीमा रहेको कारण धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले अन्तिम समयमा खारेज गरेको थियो। उम्मेदवारी खारेज भए पनि उनले करिब १३ हजारभन्दा बढी मत पाएका थिए, तर निर्वाचित भने हुन सकेनन्। यो विषय अहिले अदालतमा पुगेको छ ।












प्रतिक्रिया