बालेन प्रधानमन्त्री नबन्दै काठमाडौं आइपुगे अमेरिकी जर्नेल


काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेपालमा अमेरिकी सेनाका अधिकृतहरूको बाक्लो भ्रमण हुन थालेको छ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौं आइपुग्दैछन् । युएस आर्मी प्यासिफिक कमाण्डका भोवेल आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन् ।

उनीसँगै टोलीमा मेजर माथ्यु क्रासटेनसेन,मेजर जेक ओस्टर र सिपिटी टेरेल हर्डल सदस्य सामेल छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अफिसियल भिजिट भनिएको यो तीन दिने भ्रमण फागुन २१ को निर्वाचनपछि अमेरिकी जर्नेलले गर्न लागेको पहिलो हो । यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुएल जे पापारो काठमाडौँ आएका थिए । उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए ।

जर्नेल भोवेलको टोलीले पनि पाँचखाल भ्रमण गर्ने, प्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने बताइएको छ । अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे नेपाल सरकार र अमेरिकी पक्षले औपचारिक रुपमा केही खुलाएको छैन ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन् । अमेरिकी युथ काउन्सिलका सदस्य भएकैले बालेनलाई अमेरिकी लबीको नेता भनेर चिनिन्छ । नयाँ बन्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू बार्बरा फाउन्डेसनले दिएको सूचीका रहने बताइन्छ ।