काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरु भएको बैठकमा भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदनमाथि छलफल हुने भएको छ । केही समयअघि आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइएको थियो । तर प्रतिवेदनमा उल्लेख भएका विषयबारे अहिलेसम्म बाहिर केही सार्वजनिक भएको छैन ।
प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको माग उठिरहेको छ । प्रधानमन्त्री कार्कीले आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएकी छन् । उनले प्रतिवेदन कार्यान्वयन भने नयाँ सरकारले गर्ने बताएकी छन् । ‘आयोगले प्रतिवेदन बुझाएको छ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । त्यहाँ छलफल गरेर आउने निर्णय लिन्छौँ । अब हामीसँग धेरै समय पनि छैन ।
नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ,’ कार्कीले भनेकी छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरु सडकमा उत्रिएका छन् ।
रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट,मोनिका निरौला नेतृत्वको जेनजी मुभमेन्ट अलायन्ससहित विभिन्न समूहका युवाहरु माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । युवाहरुले ‘कार्की आयोगको प्रतिवेदन खोइ ?’, ‘नो मोर सेक्रेट्स’, ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘रिलिज दि रिपोर्ट, रिलिभ दि ट्रुथ ’, ‘हामी जान्न चाहन्छौँ, कसले चलायो गोली ? कसले गर्यो विद्यार्थीको हत्या ?’ लगायतका नारा लगाएका छन् ।













प्रतिक्रिया