काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सोमबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याएपछि हेर्दाहेर्दैमा राखेर सोमबारलाई सारिएको हो । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर आज सुनुवाइ गर्ने भएका हुन् ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आइतबारका लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । सो निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
भण्डारीले रविमाथि धेरै मुद्दाको बोझ भएकाले आफूले दुईवटा मुद्दा फिर्ता लिने निर्णय गरेको बताएकी छन् । रविको मुद्दा सल्टाउन विगतमा उनको नागरिकता र राहदानी मुद्दामा बहस गरेका न्यायाधीश पोखरेलले चासो दिएका छन् । त्यही भएर आज यो मुद्दा किनारा लाग्ने धेरैले अनुमान गरेका छन् । न्याय क्षेत्रमा अहिले बेन्च सपिङको चर्चा भइरहेको छ ।













प्रतिक्रिया