संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने, तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताउँदै यस्तो घोषणा गरेका हुन्। पदको राजनीति भन्नेवित्तिकै चुनावमा अब उनी नउठ्ने भन्ने बुझिन्छ । हालै सम्पन्न निर्वाचनमा जनमतसहित मधेश केन्द्रित दलहरू शून्यमा पुगेका छन् ।

अबको पाँच वर्ष संसदमा पुग्ने सम्भावना नदेखेपछि राउतले संसदीय राजनीतिबाट सन्न्यासको घोषणा गरेका हुन् । ‘मनमा अन्य कुनै लोभलालच पलाओस् वा पद (लालसा) आओस्, वा मायाजालमा झन्झन् अल्झिँदै जाऊँ, त्योभन्दा अगाडि नै म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छुः म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु,’ राउतले लेखेका छन् ।

फागुन २१ को निर्वाचनमा आफूले उठ्ने चाहना नराखे पनि व्यापक दबाबका कारण उम्मेदवार बनेको पनि दाबी गरेका छन् । ‘अन्तिम क्षणमा हाम्रो मेयर साहबसहितका केही साथीहरूले सम्झाउनु भयो– तपाईं लड्नु भएन भने पार्टीका उम्मेदबार र कार्यकर्ताको मनोबल गिर्छ, पार्टीले राम्रो गर्दैन, दोष तपाईंलाई आउँछ, बरू तपाईं जितेपछि राजीनामा दिनु होला।

मलाई के लाग्थ्यो भने– यसपालि त मबिना पनि कम्तीमा ४–५ सीट प्रत्यक्षमा आउँछ नै, म नउठे पनि। त्यही भएर म उठिरहनु उचित देख्दिनथें। अन्ततः व्यक्तिगत ईच्छाविपरीत फेरि पनि पार्टी र उम्मेदबारको मनोबल गिर्न नदिन उठियो। परिणाम आएपछि फेरि हिस्स’ उनले भनेका छन् । अब आफूले नसकेको भन्दै नयाँलाई उनले शुभकामना दिएका छन् ।