काठमाडौं । रास्वपाले संसदीय इतिहासमै सबैभन्दा बढी ठूलो जित हात पारे पनि केही नाम चलेका सेलिब्रिटी सांसद बन्न पाएनन् । गायक तथा अभिनेता प्रकाश सपूत र क्रिकेटर ज्ञानेन्द्र मल्ल पार्टीले झन्डै दुई तिहाइ बहुमत ल्याउँदा पनि समानुपातिकबाट सांसद बन्न सकेनन् । सपूत आफ्नो संगीत करियर छाडेर राजनीतिमा प्रवेश गरेका थिए । ५७ सांसद पाउँदा पनि आफू नपरेपछि उनी निराश छन् ।
यस्तै पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल पनि सूचीमा अटाउन सकेनन् । रास्वपाले ४८ महिलालाई सांसद बनाउनुपरेपछि प्रकाश र ज्ञानेन्द्रले मौका नपाएका हुन् । ज्ञानेन्द्रले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन् ।
राष्ट्रिय टोलीको कप्तान भइसकेका मल्लले समानुपातिकतर्फ रास्वपाको बन्दसूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँदै लेखेका छन्, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार(जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।’
मल्ल जनजाति कलस्टरबाट रास्वपाको समानुपातिकको बन्दसूचीमा थिए । उनले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेनजीप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।













प्रतिक्रिया