काठमाडौं । न्यायाधीश सुनिलकुमार पोखरेलले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा स्वार्थ बाझिने गरी सुनुवाइ गरेपछि उनीविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । पोखरेल विगतमा रविकै वकिल थिए । उनले रविको दोहोरो नागरिकता र राहदानी मुद्दामा बहस गरेका थिए ।
रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सो मुद्दाको पेसी न्यायाधीश पोखरेलले आफ्नै बेन्चमा राखेर न्यायाधीशको आचारसंहिता विपरीत कार्य गरेको भन्दै उनीविरुद्ध न्यायपरिषदमा उजुरी परेको हो । वकिल हुँदा आफैले वकालत गरेको मुद्दा आफ्नै बेन्चमा राखेर तमासा नगर्न पोखरेललाई दबाब परेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाइका लागि आइतबार न्यायाधीश पोखरेल र न्यायाधीश सारंगा सुवेदीको इजलास तोकिएको थियो। न्यायाधीश हुनुअघि पोखरेलले रवि लामिछानेका विभिन्न मुद्दाहरूमा कानुन व्यवसायी (वकिल) को रूपमा काम गरेका थिए।
लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्साहन, नागरिकता र राहदानीसम्बन्धी विवादमा पोखरेलले लामिछानेको पक्षबाट बहस गरेका थिए। पहिले आफ्नै पक्ष रहेको व्यक्तिको मुद्दा न्यायाधीश बनेपछि हेर्नु आचारसंहिताविपरीत हुने जिकिर रिट निवेदक पौडेलको छ।
आइतबारको इजलासमा पौडेलका कानुन व्यवसायीले पोखरेललाई स्वार्थ बाझिने भन्दै सुनुवाइबाट अलग हुन आग्रह गरेका थिए। तर, न्यायाधीश पोखरेलले उक्त आग्रह अस्वीकार गर्दै सुनुवाइ जारी राखेपछि पौडेल उजुरी बोकेर न्यायपरिषद् पुगेका हुन्।
उजुरीमा न्यायाधीश पोखरेलले ‘न्यायाधीशको आचारसंहिता, २०७४’ को दफा ४ को उपदफा ४।५ को (ग) उल्लंघन गरेको उल्लेख छ। उक्त प्रावधानअनुसार ‘विवादित विषयमा न्यायाधीशले पहिले कानुन व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा रहेको भएमा त्यस्तो मुद्दाको सुनुवाइ गर्न मिल्दैन।’
रिट निवेदक पौडेलका अनुसार, न्यायपरिषद्का सचिव जितेन्द्रबाबु थपलियाले यसबारे प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतसँग परामर्श गरेर मात्र उजुरी विधिवत् दर्ता गर्ने जानकारी दिएका छन्।













प्रतिक्रिया