काठमाडौं – काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र “पाँच पाण्डव’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभ–मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो।
ठूलो लगानी र चर्चित कलाकारहरूको उपस्थितिका कारण यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ। क्यामेरा पूजा गर्दै सुरु गरिएको छायांकनको पहिलो दिनको सेड्युलमा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा रहनेछन्। यी पाँच कलाकार नै ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्।
शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो चलचित्र कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभई सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। महाभारतका पाँच पाण्डवको बिम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गरिने बताइएको छ।
चलचित्रमा दीपाश्री निरौला र जनी गुरुङ महिला मुख्य पात्रका रूपमा देखिनेछन्। चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। चलचित्रलाई श्याम तामाङले खिच्ने छन्। करिब ४० दिनको छायांकन तालिका तय गरिएको फिल्मका अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जनाएको छ।
चलचित्रमा फूल डल्बी एट्मस साउन्डको प्रयोग गरिनेछ। म्युजिक नेपालको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको साउन्डको काम हुने बताइएको छ।
झापाका विभिन्न रमणीय स्थानमा छायांकन सम्पन्न गरेपछि अन्य स्थानमा पनि सेड्युल तय गरिने निर्देशक निरौलाले जानकारी दिएका छन्। दिग्गज र नयाँ पुस्ताका कलाकारहरूको एउटै पर्दामा उपस्थिति रहने भएकाले ‘पाँच पाण्डव’लाई लिएर सिने वृत्तमा अहिले नै चर्चा सुरु भएको छ।















प्रतिक्रिया