अब सार्वजनिक यातायातको भाउ बढ्ने


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब सार्वजनिक यातायातको भाउ बढ्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबार सार्वजनिक यातायातको भाडा बढाउन माग गरेको छ ।

नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर दश रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा वा घट्दा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गर्दै आएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवं यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए ।

महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेको छ ।
सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेल पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।

यातायात व्यवस्था विभागले कानुनबमोजिम संघीय रुटको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले पनि उक्त व्यवस्था लागू गर्न अनुरोधसमेत गरेको छ । महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेशअन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सर्वसाधारणको भान्छासमेत महँगिने अवस्था छ । अझ सार्वजनिक यातायातको भाउ बढेमा जनताको ढाड सेकिने भएको छ ।