दर्शकसँगै टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’


काठमाडौँ – चलचित्र “लालीबजार”को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ अहिले दर्शकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मको मन जित्न सफल भएको छ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको यो गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा लाखौं भ्युज बटुल्दै ट्रेन्डिङमा उक्लिएको छ।

गीतको लोकप्रियतासँगै टिकटक र फेसबुक रील्समा यसको क्रेज झन् बढ्दो छ। विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापा ले प्रस्तुत गरेको नृत्य अहिले भाइरल बनेको छ। उनीहरूको स्टेपलाई पछ्याउँदै हजारौं प्रयोगकर्ताले भिडियो बनाइरहेका छन्, जसले गीतलाई अझ व्यापक बनाएको छ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले गीतको लोकभाका, गायक–गायिकाको स्वर र नृत्यशैलीको खुलेर प्रशंसा गरेका छन्। यसले कन्टेन्ट क्रिएटरहरूको रोजाईमा पनि स्थान बनाएको देखिन्छ।

गीतको तयारीबारे कुरा गर्दै स्वस्तिमाले छायांकनकै बीच–बीचमा अभ्यास गरिएको बताइन्। बालकलाकार समाइराको मेहनतले आफूलाई अझ प्रेरणा मिलेको उनको भनाइ छ।

गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगर को स्वर रहेको छ भने सङ्गीत पनि खेम सेन्चुरीकै हो। शब्द रमेश बिजी ले लेखेका हुन्। कोरियोग्राफी प्रदीप लामा ले गरेका छन्।

फिल्म आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायतका कलाकारहरूको अभिनय रहनेछ।

निर्देशक यम थापा ले गीत कथासँगै अघि बढ्ने गरी निर्माण गरिएको बताउँदै दर्शकबाट पाएको मायाले टिम उत्साहित भएको बताएका छन्।