काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण मंगलबारदेखि सुरु गर्दैछ । ‘परिवर्तनको नेतृत्व, परिणामको राजनीति’ भन्ने मूल नाराका साथ चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रम सञ्चालन हुन लागेको हो। रास्वपा सांसदहरू होटल आउने क्रम सुरु भएको छ ।
नेपाली जनताले राखेको परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षालाई सार्थक बनाउन सांसदहरूलाई प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ। दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन ६ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।
संसदीय पाठशालामा रास्वपा सांसदहरूलाई पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, हरि ढकाल, तोसिमा कार्की, सोविता गौतमसहित नेपाल सरकारका पूर्वसचिवहरूले प्रशिक्षण दिने छन् ।
सहमहामन्त्री विपिनकुमार आचार्यले सञ्चालन गर्ने पहिलो दिनको कार्यक्रमको उद्घाटन पार्टी नेतृत्वले घण्टी बजाएर गर्नेछन्। उद्घाटन सत्रमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालले विशेष मन्तव्य राख्दै चुनावको अनुभव र आगामी निर्देशनबारे बोल्नेछन्।
पहिलो दिन मुख्यतया संसदको संरचना, कार्यप्रणाली र कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे पूर्वसचिव एवं संसद सचिवालयका पूर्वकर्मचारी सुरेश अधिकारी र पूर्व कानुन सचिव तोयानाथ अधिकारीले सहजीकरण गर्नेछन्।
यस्तै, आइटी विज्ञ दोभान राईले कृत्रिम बुद्धिमत्ता (एआई) र अल्गोरिदमले लोकतन्त्र र सुशासनमा पार्ने प्रभावबारे प्रस्तुति दिनेछन्। सोही दिन शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, मनिष झालगायतका अनुभवी सांसदहरूले नयाँ सांसदहरूलाई आफ्नो अनुभव साट्नेछन् भने बेलुकी रणनीतिक प्रश्नहरूमाथि समूहगत छलफल गरिनेछ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले भने प्रशिक्षण दिने कार्यतालिका छैन । नआउने भएका छन् l बालेन प्रधानमन्त्रीका उम्मेदवार हुन् ।













प्रतिक्रिया