काठमाडौँ – तुलसी घिमिरे को निर्देशनमा तयार भएको फिल्म पहाड को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी वर्ष २०८३ वैशाख १ गते, नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।
टिजरले पहाडी जीवनको सुन्दरता र त्यसैसँग जोडिएको पीडा दुवैलाई उजागर गरेको छ। विशेषगरी रोजगारीका लागि युवाहरू विदेश पलायन हुँदा उजाड बन्दै गएका गाउँ, खाली घरहरू र त्यसले निम्त्याएका सामाजिक–आर्थिक असरहरू फिल्मको मुख्य विषय बनेका छन्। निर्देशक घिमिरेका अनुसार, “पहाड केवल भूगोल होइन, यो हाम्रो पहिचान हो,” भन्ने सन्देश फिल्मले बोकेको छ।
यो फिल्ममा पुराना र अनुभवी कलाकारहरूसँगै नयाँ अनुहारहरूको संयोजन देख्न पाइन्छ। मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ र सुनिल थापा जस्ता चर्चित कलाकारहरूलाई निर्देशकले पुनः एकै ठाउँमा ल्याएका छन्। साथै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्ममार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन् भने प्रोडक्सन डिजाइनमा जेठी छोरी भावना घिमिरेको पनि संलग्नता रहेको छ।
छायांकन प्रमोद प्रधान ले गरेका हुन्, जसले यसअघि पनि घिमिरेसँग सफल सहकार्य गरिसकेका छन्। सङ्गीत निर्देशन रणजीत सिंह गजमेर को रहेको फिल्मलाई भाग्यरत्न फिल्म्स प्रालिले निर्माण गरेको हो।
‘पहाड’ ले मनोरञ्जन मात्र होइन, समाजमा भइरहेका गम्भीर परिवर्तनबारे सोच्न बाध्य बनाउने विश्वास निर्माण टिमले गरेको छ।













प्रतिक्रिया