रवि भन्छन् मन्त्रीका विषयमा छलफल नै भएको छैन, तर बजारभरि मन्त्री बन्नेहरूको चर्चा


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै छलफल नै नभएको बताएका छन् । बुधबार ग्वार्कोस्थित होटेल रोयल टुलिपमा पुगेर उनले सांसदहरूलाई सम्बोधन गर्दै मन्त्री बन्न भन्दै घरघरमा नधाउन निर्देशन दिँदै अहिले यो मन्त्री त्यो मन्त्री भन्ने विषय आइरहेको भन्दै असन्तुष्टि जनाए । उनले नागरिकसँग सधैं नजिक रहेर बस्न भन्दै नागरिकसँग गरिएका करार अक्षर अक्षर पढ्न भने ।

म यो मन्त्री बन्दैछु भनेर चर्चा परिचर्चा नगर्नोस् । मन्त्री बन्न भन्दै नेताहरुको घरघर नधाउनुस् । मन्त्रीको चर्चामा आएका र नआएका सबै नेताहरुलाई पार्टीले हेरिरहेको छ,’ उनले भने । तर रविले यसो भनिरहँदा बजारभरि मन्त्री को को बन्दैछन् भन्ने विषयले ठूलै हाइप लिइसकेको छ ।

चर्चाअनुसार अर्थ मन्त्रालयका लागि स्वर्णिम वाग्लेको नाम निर्विकल्प जस्तै देखिएको छ । वाग्लेको प्राज्ञिक र व्यवसायिक पोर्टफोलियोका कारण पार्टीभित्र अन्य सदस्यहरूले यो मन्त्रालयमा दाबी गरेका छैनन्। यसअघि चर्चामा रहेका पूर्वसचिव रामेश्वर खनालको सट्टा सरकारले राष्ट्रिय सभामा ओमप्रकाश अर्याललाई सिफारिस गरेसँगै वाग्लेका लागि अर्थ मन्त्रालयको बाटो थप सहज बनेको हो ।

गृह मन्त्रालयमा भने प्रतिस्पर्धा देखिएको छ । पार्टीका उपसभापति डीपी अर्याल र नेता सुनिल लम्सालले गृहमा दाबी प्रस्तुत गरेका छन् । लम्साललाई काठमाडौँका मेयर बालेन्द्र साह बालेन निकट मानिन्छ, जसका कारण पार्टीभित्र बालेन र रवि पक्षबीच शक्ति सन्तुलन मिलाउन उनलाई गृह प्रशासनको जिम्मेवारी दिनुपर्ने तर्क उठेको छ । डीपी अर्यालले भने गृह मन्त्रालयबाहेक अन्य पदमा रुचि नभएको अडान लिएका छन् । पार्टीले उनलाई सभामुखको भूमिकामा अघि सार्न खोजे पनि अर्यालले त्यसलाई अस्वीकार गरेको स्रोतको दाबी छ । गृह मन्त्रालय नपाएको खण्डमा उनलाई भौतिक पूर्वाधार मन्त्रालयमा व्यवस्थापन गर्न सकिने विकल्पबारे पनि छलफल भइरहेको छ ।

सागर ढकाललाई खानेपानी वा ऊर्जामन्त्रीमध्ये एकमा पठाउनुपर्ने भन्दै लबिङ सुरु भएको छ । सुधन गुरुङलाई युवा तथा खेलकुद, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागिएको भन्दै सामाजिक सञ्जाल र केही मिडियाले लेख्न थालिसकेका छन् । जसले गर्दा रास्वपा सभापति रवि लामिछानेको दाबी पनि फेल खाएको छ । यद्यपि रवि र बालेनले नयाँ सरकारमा ककसलाई पठाउने भन्ने निर्णय गर्ने हुन् ।