काठमाडौं । मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषय झन् झन् जटिल बन्दै गएको छ । गृह मन्त्रालयले यो घटनाका विषयमा अनुसन्धान गर्न छानबिन गर्न समिति बनाएको छ ।
चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएपछि नेपाल सरकार दबाबमा परेको हो । गृहले मोरङका सहायक सिडिओ सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि समिति सदस्य छन् ।
फोहोर जलाएको भिडियोमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो । विश्वविद्यालयले ल्याव निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको जवाफ पठाएको छ । यसमा कुनै गलत मनसाय नरहेको विश्वविद्यालयले जिकिर गरेको छ ।
आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी समितिलाई १५ दिनको सीमा तोकिएको मोरङका सीडीओ युवराज कट्टेलले बताए । प्रदेश सरकार मातहतमा रहेको विश्वविद्यालयमा मनमोहन प्रतिष्ठानमार्फत ती पुस्तक आएका थिए । यो विषयलाई चीनले निकै गम्भीर रूपमा लिएको बताइन्छ ।













प्रतिक्रिया