गगन थापाको राजीनामाले पूर्ति होला कांग्रेसको रिक्तता ?


काठमाडौं – आमनिर्वाचनमा पराजय बेहोरेपछि नैतिकताका आधारमा नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामासँगै नेपालको राजनीतिमा एकप्रकारको तरंग फैलिएको छ ।

निर्वाचनमा पार्टी नै पराजित भएपछि नैतिकताका आधारमा सभापति पदबाट राजीनामा दिनुलाई धेरैले प्रशंसा गरेका छन् । तर एकथरीले एउटा निर्वाचनमा पार्टी हार्दैमा राजीनामा दिनुभन्दा पार्टी संगठन बलियो बनाउन लागिपर्नुपर्ने भन्दै फिर्ता लिन दबाब दिइरहेका छन् । यद्यपि राजीनामा दिइसकेपछि फिर्ता लिने मनस्थितिमा थापा छैनन् । यदि शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेमा फरक ढंगले राजनीतिक कोर्ष अगाडि बढ्ला । तर कठिन अवस्थामा गगनको राजीनामाले कांग्रेस अझ कमजोर हुने तर्क वितर्क चलेको छ ।

सभापति थापाले पदबाट राजीनामा दिएसँगै शुक्रबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने भएका छन् । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएपछि बैठकको अध्यक्षता शर्माले गर्ने भएका हुन् ।

बैठकमा सभापति थापाले राजीनामा दिएकोबारे जानकारी गराउने कार्यसूची छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ । तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।

केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।

गगनको राजीनामाले युवा नेताहरूमा नैतिकता देखिएको भन्दै धेरैले फरक फरक सल्लाह र सुझाव दिइरहेका छन् । यसैक्रममा पूर्वसचिव कृष्ण ज्ञवाली भन्छन्, ‘अलिकति ढिलो भए पनि बिलकुल सही निर्णय । यो राजीनामा दल र देशको पुनर्निर्माणको मिसनबाट दिएको भन्ने चैं फेरि नबुझियोस् । पराजित मतबाट भएको हो, लक्ष्यबाट हैन । तमाम शुभेच्छुकहरुको मनबाट हैन। अब नियमित महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्छ। झन् बलियो भएर। यसमा विश्वजीको सर्वात्मना साथ रहने नै छ ।’
जेनजी विद्रोहपछिको पार्टीमा विद्रोह र पराजयपछि यत्तिको हिम्मत देखाउन सानो मनले पुग्दैन भन्दै उनको प्रशंसा हुन थालेको छ ।

तर उनको राजीनामाले कांग्रेस नसुध्रिने भन्दै फिर्ता लिएर संगठन बनाउन सुझाव दिने पनि छन् । पत्रकार नारायण अमृत लेख्छन्, ‘गगनको राजीनामाको खास राजनीतिक अर्थ भदौ २३ गते राति सत्ताधारी दलको महामन्त्रीका रुपमा थियो। नग्न सडकमा बली चढेका सन्तानको रगतको न्याय खोज्दै राजीनामा गरेको भए अहिले राजनीतिक कोर्स अर्कै दृश्यमा देखिने थियो। सुशासनको माग राख्दै गरेको त्यही साहदतको आडमा विशेष महाधिवेशन भयो तर नयाँ कांग्रेसले विद्रोहको राजनीतिक अनुमोदनलाई तल्लो तहसम्म लैजान निष्फल भयो। यो काम अधुरो र अपुरो छोडेर गगनले गरेको अहिलेको राजीनामाको खास अर्थ छैन। कांग्रेस सुधार्ने काम खै पूरा भएको ?