गगन थापाको राजीनामा पत्रमा के छ ?


काठमाडौं – नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएसँगै अहिले गगन थापा चर्चाको केन्द्रविन्दुमा छन् । थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै सभापति थापाले पदबाट राजीनामा दिएपछि अहिले यसबारे पक्ष विपक्षमा तीव्र बहस चलिरहेको छ । थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ उनको राजीनामा पत्रमा छ ।

थापाले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी पनि गरेका छन् । उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गरेका छन् । ‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।

पार्टीका विभिन्न तहमा रहेको व्यक्तिहरू समर्थक र शुभेच्छुकहरूले पठाइरहेका सन्देशहरूले ऊर्जा दिएको पनि थापाले बताएका छन् । ‘ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको अपेक्षा र विश्वासका प्रतीक पनि हुन् । मप्रतिको त्यो विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा प्रष्ट छु,’ उनको राजीनामा पत्रमा छ ।