काठमाडौं । भक्तपुरको नगरकोट सडकखण्डमा बिच सडकमै दुई बाइक राइडरलाई कुटपिट गर्ने कार चालक गणेशबहादुर तामाङ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय तामाङलाई बिहीबार पक्राउ गरेको हो ।
केही दिनअघि नगरकोटतर्फ जाँदै गरेका दुईजना भ्लगरमाथि तामाङले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । युवाहरूले आफूहरूको कुनै गल्ती नरहेको बताइरहँदा पनि उनले पालैपालो आक्रमण गरेका थिए ।
पीडितहरूले घटनाको भिडियो सामाजिक सञ्जालमा हालेलगत्तै भाइरल बनेको थियो । भिडियो सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग व्यापक रूपमा उठेको थियो । सोही आधारमा प्रहरीले उनको खोजी तीव्र बनाएर बिहीबार पक्राउ गरेको हो ।













प्रतिक्रिया