राजेश हमालको नाममा पौने १३ लाख भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा


काठमाडौं । अभिनेता राजेश हमालको नाममा सरकारी ढुकुटीमा भ्रष्टाचार भएको छ । हमाल अभिनित चलचित्र ‘अन्धपथ’ निर्माणका लागि सरकारी ढुकुटीको दुरूपयोग भएको खुलेको हो ।

अछामको ढकारी गाउँपालिकाले चलचित्र बनाउने नाममा स्थानीय तहको बजेट दुरुपयोग गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनाविरुद्ध मुद्दा दायर गरेपछि यो तथ्य बाहिर आएको हो ।

पालिका अध्यक्ष प्रकाशबहादुर साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद र चलचित्र निमार्णकर्ता आरजे ट्वान्टी फोर मिडिया प्रालि एवम् नवइन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल उर्फ रामबहादुर लम्सालविरुद्ध मुद्दा चलाइएको छ ।

अख्तियारले बिहीबार विशेष अदालतमा दायर अभियोगपत्रमा उनीहरुउपर जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो कायम गरिँदै सजायको मागदाबी गरिएको छ ।

गत फागुन ८ गतेदेखि छायांकन सुरु भएको ‘अन्धपथ’ निर्माणका लागि पालिका अध्यक्ष र निर्देशक रामजीसहितको मिलेमतोमा बदनियतपूर्वक ढकारी गाउँपालिकाले लगानी गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार बजेट नछुट्याई, खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माणलगायत कारबाही नै तयारी ०८१ भदौ १८ गते गाउँपालिका र आरजे ट्वान्टी फोर मिडिया प्रालिबीच चलचित्र निर्माणको सम्झौता भएको थियो । त्यसलाई ढाकछोप गर्न कात्तिक ६ गतेको कार्यपालिका बैठकले १५ लाख पाँच हजारको सम्झौता अनुमोदन गरेको थियो ।

तर, सार्वजनिक खरिद नियमावली, २०६४ प्रतिकूल प्रतिस्पर्धाबिनै सोझै खरिद कार्य गर्नुका साथै जमानतबिनै अग्रिम भुक्तानी (पेश्की) ५८ प्रतिशत दिएको पाइएको अख्तियारको ठम्याई छ । जबकि कानूनी सीमाअनुसार जमानत राखेर पेश्की २० प्रतिशतमात्र दिन पाउने व्यवस्था छ । साथै, सम्झौता पालिका र आरजेबीच भएपनि भुक्तानी कार्य नवइन्द्रेणीलाई गरिएको पाइएको हो । अख्तियारले अनुसन्धानको क्रममा झुट्टा तथा नक्कली बिलका आधारमा थप खर्च गरेको देखिएको पनि बताएको छ ।