सुन र चाँदीको मूल्यमा पहिरो, सुन तोलाको दुई लाख ८२ हजार


काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ उच्च अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन प्रतितोला १२ हजार पाँच सय रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र चाँदी चार हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । एक साताको अवधिमै सुनको भाउ २७ हजार चार सय रुपैयाँले घटिसकेको छ । सुन प्रतितोला तीन लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा उच्च अंककै गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १५३ डलरले घट्दै प्रतिऔंश ४ हजार ४८९ डलरमा किनबेच भइरहेको छ । चाँदी ४.७९ डलरले घट्दै प्रतिऔंश ६७ डलरमा किनबेच भइरहेको छ ।