काठमाडौं । निर्वाचनमा करारी हार बेहोरेसँगै नेपाली कांग्रेस विभाजनको बाटोतर्फ अघि बढेको छ । शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेपछि पार्टी विभाजनउन्मुख बनेको हो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहेकै बेला देउवा समूहको आइतबार एक होटलमा बसेको भेलाले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको छ ।
आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको भेलाले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ ।
उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ ।
पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ । उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
अदालतले चैत २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् । विशेष महाधिवेशनअघि तत्कालीन सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको महतले बताए ।
हालै सम्पन्न निर्वाचनमा देउवा समूहका केही नेता प्रत्यक्ष र समानुपातिकतर्फ विजयी भएका छन् । कांग्रेस विभाजन भएमा त्यसको असर संसदमा पनि पर्ने देखिन्छ । कांग्रेस सभापति गगन थापाको हस्ताक्षरसहित चुनावमा गएर पराजित बनेका नेताहरु अहिले देउवा र खड्का पक्षमा उभिएका छन् ।













प्रतिक्रिया