काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन सार्वजनिक नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई केले रोक्यो भन्दै प्रश्न गरेका छन् । उनले अन्तरिम सरकारले अझै प्रतिवेदन सार्वजनिक नगर्दा आशंका र उपशंका जन्माएको बताएका छन् ।
पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगरेकोप्रति आशंका व्यक्त गरेका हुन् ।
‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ,’ उनले भनेका छन् ।
उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् । ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ ।अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो,’ उनले भनेका छन् ।
नेता पौडेलले कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको पनि उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
भदौ २३ का विषयमा अनुसन्धान गरी तत्कालीन सरकारका केही पदाधिकारीमाथि मुद्दा चलाउन प्रतिवेदनले सुझाव दिएको बाहेक २४ गतेको विषयमा उल्लेख भएका कुरा बाहिर ल्याइएको छैन । अब नयाँ बन्ने सरकारले चाहेमा मात्र जेनजी प्रतिवेदन कार्यान्वयनमा आउनेछ । नचाहे त्यत्तिकै थन्किने छ ।













प्रतिक्रिया