दुर्गा प्रसाईको कटाक्ष, लिपुलेकका विषयमा बालेनप्रति पूर्ण विश्वास छ


काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले बालेनको राष्ट्रवाद फेसबुक स्टाटसमै सीमित रहन्छ कि व्यवहारमा पनि देखिन्छ भन्ने कुरा केही दिनमै खुल्ने बताएका छन् । भारत र चीनले नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार सुरु गर्न लागेको विषयबारे प्रसाईले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखेका छन् । जसमा बालेनलाई कटाक्ष गर्दै उनको राष्ट्रवाद कस्तो होला भन्ने विषयमा आफू पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

‘हिजोदेखि नेपाली मिडियामा लिपुलेकसम्बन्धी मुख्य चर्चाहरू निकै चर्किएका छन्। मैले ताजा रिपोर्ट, भिडियो र मिडिया ट्रेन्डहरू हेर्दा, धेरै नेपाली मिडियाले मुख्य हेडलाइन बनाएको विषय यही देखिन्छ,भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सञ्चालन गर्ने तयारी गरिरहेका छन्,’ उनले भनेका छन्, ‘केही मिडियामा त खुलाउने घोषणा भइसकेको भन्ने दाबीसमेत गरिएको छ।

अब तपाईंहरूलाई लागेको हुन सक्छ राष्ट्रवादी आवाज उठाउने दुर्गा प्रसाई किन बोलेन ? यो विषयमा तपाईंहरू सबैलाई चासो भएको होला।’ प्रसाईले विगतमा लिपुलेकबारे एमाले अध्यक्ष केपी ओली पधानमन्त्रीका रूपमा चीन भ्रमणमा जानेबेला बालेनको स्टाटस पढेपछि अहिले आफूले केही बोल्नै नपर्ने बताएका छन् ।

‘तर, यो विषयमा मैले बोल्नुपर्ने खासै केही देखिनँ। किनकि जब केपी शर्मा ओली चीन भ्रमणमा जानुभएको थियो, ठीक त्यहीबेला बालेनले लेखेको त्यो स्टाटस याद आयो। अनि मैले सोचेँ यो त बालेनले कदापि हुन दिने छैनन्,हामीलाई पूर्ण बिस्वास छ। बालेन शाह स्वयं प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढिरहेका छन्, त्यसैले पनि मैले सोचेँ अब किन चिन्ता गर्ने ? लिपुलेक केवल एउटा भूगोल होइन, यो नेपालको अस्मिता, स्वाभिमान र सार्वभौमिकताको प्रश्न हो। अब हेर्न बाँकी छ बालेनको राष्ट्रवाद फेसबुकको स्टाटसमै सीमित रहन्छ कि व्यवहारमा पनि देखिन्छ ? अनि बोल्छु,’ प्रसाईले लेखेका छन् ।