काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ । चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिन दिउँसो ४ बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ । रास्वपाले दुई तिहाइ बहुमत पाएकाले बालेन्द्र साह बालेन प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री हुन दलको नेता आवश्यक पर्ने भएकाले रास्वपाले बिहीबार बालेनलाई दलको नेता चुन्ने भएको छ । नयाँ प्रधानमन्त्रीका रूपमा बालेनले शुक्रबार शपथ लिँदैछन् ।
प्रधानमन्त्री को बन्ने फिक्स भइसके पनि मन्त्रीहरूको विषयमा अहिलेसम्म अनुमान मात्र गरिँदै आएको छ । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निश्चित जस्तै भए पनि उपसभापति डिपी अर्याललाई भने सरकारमा नपठाइने भएको छ । रास्वपा स्रोतका अनुसार बालेन र वाग्ले अर्याललाई प्रतिनिधिसभाको सभामुख बनाउन चाहन्छन् । तर सभापति रवि लामिछाने अहिलेसम्म कन्भिन्स भइसकेका छैनन् ।
आफू पटकपटक कारागार जाँदा पनि अर्यालले पार्टी सम्हालेर यहाँसम्म ल्याएको भन्दै रवि अरुलाई नै सभामुख बनाउन चाहेका छन् । तर अर्याललाई पार्टी राजनीतिबाट अलग्याउने रणनीतिमा वाग्ले रहेको बताइन्छ । डिपी अर्यालले गृहमन्त्री हुन चाहेका छन् । रविले पनि यसमै अडान लिएका छन् । तर बालेनले गृहमन्त्रीमा रुपन्देही १ बाट निर्वाचित सुनिल लम्साललाई ल्याउने कन्फर्म जस्तै भएको नेताहरुले बताएका छन् ।













प्रतिक्रिया