बन्लान् त सुहाङ नेम्वाङ एमाले संसदीय दलको नेता ?


काठमाडौं । नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा एमालेमा संसदीय दलको नेताबारे बहस सुरु भएको छ । चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरिरहँदा अन्य दलहरू संसदीय गतिविधि गराउन नेता चुन्ने प्रक्रियामा छन्। रास्वपाले चैत १२ गते बालेनलाई दलको नेता चुन्दैछ ।

राप्रपाले ज्ञानबहादुर शाहीलाई दलको नेता चयन गरिसकेको छ । फागुन २१ को निर्वाचनमा लज्जास्पद रुपमा पराजित भएसँगै एमाले नेतृत्व परिवर्तनको बहस चलिरहँदा संसदीय दलको नेतामा युवा अनुहार अगाडि सार्नुपर्ने आवाज छ। केहीले सिनियर नेतालाई अघि सार्नुपर्ने बताएका छन् । अधिकांशले भने युवा अनुहारलाई मौका दिनुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

एमालेमा कानुन बुझेको र दखलता भएको व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्ने त्यसमा पनि युवा हुनुपर्ने आवाज उठिरहँदा इलाम २ बाट निर्वाचन जितेका सुहाङ नेम्बाङले नाम अगाडि देखिन्छ । समानुपातिक प्रणालीमार्फत सांसद भएका उपाध्यक्ष रामबहादुर थापा बादल पनि संसदीय दलको नेता बन्ने चर्चा देखिन्छ ।

ऐन महरलाई पनि नेता बनाउनुपर्छ भन्ने केहीले चर्चा गर्न थालेका छन्। दलको नेताका लागि एमाले सचिव पद्‍मा अर्यालको नाम पनि धेरैले अगाडि सारेका छन्। यी सबैको नामभन्दा सुहाङ नै प्रबल दाबेदार मानिएका छन् । उनी पूर्वसभामुख सुवास नेम्वाङका छोरा हुन् । बाबुको विरासत सुहाङले बोक्न सक्ने मात्र होइन, एमालेलाई नेतृत्व गर्न सक्ने खुबी उनमा रहेको बताउन थालिएको छ । बादललाई दलको नेता बनाउँदा पूर्वमाओवादीको कब्जामा पार्टी जाने भएकाले धेरैले सुहाङलाई उपयुक्त पात्र भन्दै अघि सारेका छन् ।