भदाै २४ काे विध्वंशबारे जाँचबुझ आयाेगकाे प्रतिवेदन माैन, कसैलाई देखाएन दाेषी


काठमाडाैं । भदाै २३ को दमनकारी घटनावारे विस्तृत विवरण समाविष्ट गरेकाे गाैरीबहादुर कार्की आयाेगकाे प्रतिवेदन २४ काे विध्वंशबारे माैन रहेकाे छ । जनशक्ति नभएकाे भन्दै अनुसन्धान गरेर कसैलाई दाेषी ठहर गर्न नसकेकाे भनेर उम्किएकाे पाइएकाे छ ।

अहिलेसम्म सार्वजनिक नभएकाे प्रतिवेदनमा भदाै २४ मा भएका ऐतिहासिक सम्पदाहरु, सरकारी, निजी र ब्यापारिक सम्पत्तिहरुमाथिको आगजनी, लुटपाटसम्वन्धी पर्याप्त प्रमाण फेला पार्न नसकिएको भन्दै यसउपर थप अनुसन्धानको सिफारिससमेत गरिएको छ । प्रतिवेदनले खास खास मुध्दाहरु विचाराधीन रहेका केही अदालतका विशेष फाँटहरुमा छानीछानी आक्रमण र आगजनी गरिएको कुरालाई समेत सांकेतिक रूपमा स्वीकारेको छ । त्यसबेला रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित रहेका मुद्दाकाे मिसिल फाँटमा आगाे लगाएर जलाइएकाे पाइएकाे थियाे । कार्की आयाेगले रविबारे नबाेले पनि आशय त्यही देखाएकाे छ ।

‘केही विशेष प्रकारका कागजात भएका ठाउँमा टार्गेट गरेर आगो लगाइएको थियो । खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्रायस् सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘भाद्र २४ गतेको घटनामा संलग्न भएका व्यक्तिहरुको सम्बन्धमा निर्क्यौल गर्न आयोगलाई अहिलेसम्मको छानविनबाट अभियोजनको लागि सिफारिस गर्न मिल्ने गरी ठोस सबुद प्रमाण संकलन गर्न सकिएको छैन । आयोगलाई सहयोग पुग्ने गरी कुनै इन्टिलिजेन्स रिपोर्ट सरकारी वा गैह्र सरकारी निकायबाट हालसम्म प्राप्त हुन सकेको छैन ।’

यस्ताे छ भदाै २४ बारे प्रतिवेदनमा उल्लेख बुँदा
सिंहदरबार,संघीय संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता Vital Installation जलाउनमा विशेष प्रज्वलनशील पदार्थ प्रयोग गरिएको थियो । केही विशेष प्रकारका कागजात भएका ठाउँमा Target गरेर आगो लगाइएको थियो । खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्राय : सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ । कुनै कार्यालय / घरमा आक्रमण गर्दा सबभन्दा पहिला CCTV ध्वस्त गर्ने पानीको ट्यांकी खाली गरी भत्काउने,सरकारी कार्यालयहरुमा रहेको Data Centre भत्काउने र Computer कक्षमा आक्रमण गर्ने,तत्पश्चात कागजातहरु जलाउने,लुटपाट गर्ने,अन्त्यमा ती भवनहरुमा ग्याँस सिलिण्डरमा आगजनी गरी भवनभित्र फाल्ने,सो उपलब्ध नभएमा बोतलमा पेट्रोल हाली घरभित्र फ्याँकेर आगो लगाउने गरेको पाइयो । सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयमा रहेका फायर एक्सटिङगुईसर (fire extinguisher ) खोलेर त्यसमा भएको केमिकल फाल्ने गरेको पनि भेटियो ।

कम्पाउण्डभित्र पार्किङ् एरियामा राखिएका सवारी साधनहरुमा आगो लगाउने प्रकृया सबै स्थानहरुमा एउटै प्रकारको थियो । तर सिंहदरबार,सर्वोच्च अदालत,राष्ट्रपति भवन,शीतल निवास,व्यापारीका गोदाम घरहरु,भाटभटेनी स्टोरहरु,कान्तिपुर पब्लिकेशन,हिल्टन होटल,हायातलगायतका होटलजस्ता ठाउँहरुमा भने रसायन,पेट्रोल बम (Molotov Cocktaili ) लगायत अति प्रज्वलनशील पदार्थ प्रयोग गरेको पाइयो । केही आवास घर र भाटभटेनीमा लुटपाट र आगजनी गर्न खोज्दा केही लुटेरा निस्किन नसकी जलेर मृत्यु भएको पनि देखिन्छ ।

अनुसन्धानका लागि सरकारी कार्यालयहरुका CCTV footage निकै उपयोगी हुन सक्ने तर प्रायः जसो आक्रमण गरिएका सरकारी कार्यालयहरुका अभिलेख (record) गर्ने सामग्रीहरु फोडिएको तथा आगजनी गरी नष्ट गरिएको छ |भाद्र २४ गतेका सम्पूर्ण घटनाहरुलाई एक एक गरी बृहत रुपमा अनुसन्धान गरिनु पर्दछ । सिंहदरबार,सर्वोच्च अदालत,राष्ट्रपति भवन,शीतल निवास,व्यापारीका गोदाम घरहरु,भाटभटेनी स्टोरहरु,कान्तिपुर पब्लिकेशन,हिल्टन होटल,हायातलगायतका होटलजस्ता ठाउँहरुमा भने रसायन,पेट्रोल बम (Molotov Cocktail ) लगायत अति प्रज्वलनशील पदार्थ प्रयोग गरेको पाइयो ।