काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालयम बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।
समारोहमा मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । तर प्रधानमन्त्री सुशीला कार्की उपस्थित भइनन् । हाल उनी प्रधानमन्त्रीमै बहाल भए पनि कार्यक्रममा पुगिनन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ । यसैको तयारीका लागि आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले शपथ लिएका हुन् ।
केसी ७८ वर्षका छन् । संघीय संसद् सचिवालयका अनुसार बिहीबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनेछन् । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्ने भएका छन् । उनले आजै सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।













प्रतिक्रिया