राष्ट्रपतिले अर्यालको नाम ‘होल्ड’ गरेपछि प्रधानमन्त्री कार्की रुष्ट


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयम आयोजित विशेष समारोहमा पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

तर प्रधानमन्त्री सुशीला कार्की भने उपस्थित भइनन् । प्रधानमन्त्रीमै बहाल भए पनि कार्की समारोहमा नदेखिएपछि धेरैले आश्चर्य माजेका थिए । राष्ट्रपति कार्यालयमा हुने हरेक समारोहमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति हुनैपर्छ । तर कार्की भने बुधबारको समारोहमा नगएको विषयलाई लिएर अनेक अर्थ लगाउन थालिएको छ ।

राष्ट्रपति पौडेलसँग रुष्ट भएकाले कार्की शीतल निवास नगएको स्रोतले बताएको छ । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीतका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर शीतल निवास पठाएकी थिइन् । तर अहिलेसम्म पनि राष्ट्रपति पौडेलले अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीत नगरी होल्ड गरेर राखेका छन् । सोही कारण कार्की बुधबार राष्ट्रपति कार्यालय नपुगेको स्रोतको दाबी छ । प्रधानमन्त्री कार्कीले बालुवाटार छाडिसकेकी छन् । उनी धापासीस्थित आफ्नै निवासमा बस्न लागेकी छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई सिफारिस गर्दा नाममा खाली राखेर पठाउन भनेको कुरा बाहिरिएको छ । तर कार्कीले अर्यालको नाम सिफारिस गरेर पठाइन् । त्यसपछि पौडेल असन्तुष्ट बनेका थिए । लगत्तै अर्याललाई राष्ट्रियसभा सदस्य सिफारिस गरिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवदन पर्यो । यही कारण देखाएर राष्ट्रपति पौडेलले अर्यालको नाम होल्डमा राखेको बुझिएको छ ।

राष्ट्रिय सभा सदस्य मनोनीत गर्दा कुनै लाभको पदमा नभएको व्यक्तिलाई गरिनुपर्ने उल्लेख छ । तर अर्याल बहालवाला गृहमन्त्री भएकाले आफैंले आफैंलाई सिफारिस गरेको भन्दै विरोध भइरहेको छ ।