राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहीबार अपराह्न ४ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन रहेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संसदीय दलको नेतृत्व चयन प्रक्रिया र विधान संशोधनसम्बन्धी विस्तृत छलफल हुनेछ।
यसअघि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो। आजको बैठकपछि उनलाई संसदीय दलको नेता चयन गरिने र शुक्रबार प्रधानमन्त्री पदको शपथ ग्रहण गराइने तयारी छ।
आजको बैठक नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि बस्ने गरी तय गरिएको हो। शपथ ग्रहणपछि बस्ने बैठकमार्फत पार्टी विधानको धारा संशोधन गर्दै वरिष्ठ नेतालाई प्रत्यक्ष रूपमा संसदीय दलको नेता प्रस्ताव गर्ने व्यवस्था ल्याउने तयारी छ।
विशेषगरी, बालेन शाह चुनाव जितेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेका हुन्। यसअघि उनी औपचारिक रूपमा कार्यालयमा एकपटक मात्र पुगेका थिए, तर बैठकमा सहभागी भएका थिएनन्। सचिवालयका अनुसार आजको बैठकमा उनको उपस्थितिलाई विशेष रूपमा हेरिएको छ, किनभने आगामी सरकार गठन र पार्टी नेतृत्व संरचनामा उनको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ।
पार्टीका नेताहरूले बैठकबाट संसदीय दलको नेता चयनसहित सरकार गठनको प्रक्रिया अझै द्रुत गतिमा अघि बढ्ने बताएका छन्। रास्वपाले चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्री बनाउने सहमति गरिसकेको थियो।













प्रतिक्रिया