शपथलगत्तै एमालेले सांसदहरूलाई पार्टी कार्यालय बोलायो, कांग्रेसले भोलि अभिमुखीकरण दिने


काठमाडौं – एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफ्ना सांसदहरूलाई शपथ ग्रहणलगत्तै पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ ।

एमाले सांसद क्षितिज थेवेका अनुसार दुबै सदनका सांसदहरूलाई लक्षित गर्दै पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्षले समसामयिक राजनीतिक विषयमा निर्देशन दिनुहुनेछ,’ उनले भने । थेवेका अनुसार शपथको कार्यक्रम सकिनासाथ एमालेका दुवै सदनका सदस्यहरू च्यासल जानेछन् । एमालेले आजै सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

एमालेले सम्भवतः बिहीबार नै संसदीय दलको नेता चयन गर्नेछ । एमालेमा रामबहादुर थापा बादल, पद्मा अर्याल, सुहाङ नेम्वाङ, क्षितिज थेवेलगायत दलको नेता बन्ने दौडमा छन् ।

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने शुक्रबार सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । कांग्रेसले पार्टी कार्यालयमै अभिमुखीकरण राखेको छ । कांग्रेसका प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सांसद छन् । कांग्रेसले अभिमुखीकरणमा राष्ट्रिय सभा सदस्यलाई भने बोलाएको छैन । अभिमुखीकरणमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अभिमुखीकरण दिने कांग्रेसका एक नेताले बताए ।

कांग्रेसले शुक्रबार नै संसदीय दलको नेता चयन गर्ने भएको छ । सोमबार प्रतिनिधिसभा बैठक आह्वान हुने भएकाले समयको पाबन्दीका कारण कांग्रेसले शुक्रबार नै दलको नेता चयन गर्नेछ । दलको नेताका लागि कांग्रेसमा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, निष्कल राईलगायतका नेताको नाम चर्चामा छ ।