कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा


काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन् ।

रास्वपाबाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् ।
२०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम, आमा र एक भाइ छन् ।

शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन् । त्यसपछि उनले कानुन विषयमा स्नातक पूरा गरेकी छन् । हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन् ।

राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ ।

त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उनमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छन् ।

सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् ।