भ्रष्टाचारप्रति शून्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यत्तिकै छाडिँदैन: गृहमन्त्री गुरुङ


काठमाडौँ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । ‘भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,’ उनले भने ।

आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको भनाइ थियो ।
‘सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोक्किनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ’, उनले भने ।

जेनजीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उहाँले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाए ।