काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बनेको २४ घन्टा नबित्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहान ओलीलाई भक्तपुरस्थित उनकै निवास र लेखकलाई कटुञ्जेबाट प्रहरीले पक्राउ गरेको हो ।
ओली र लेखक दुवैलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । प्रहरीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मारिएका व्यक्तिको ज्यान मुद्दामा ओली र लेखकलाई कारबाही गर्न पक्राउ गरेको हो । ओली र लेखकलाई पक्राउ गर्न गृहमन्त्री सुधन गुरुङले शुक्रबार मध्यरातसम्म दुवै प्रहरी संगठनका प्रमुखसँग सघन वार्ता गरेका थिए । प्रहरी प्रधान कार्यालयले शनिबार बिहानदेखि युनिफर्मसहित तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिएको थियो ।
ओलीलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा प्रहरी टोली बिहान ५ बजे गुण्डु पुगेका थियो । यस्तै, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई पनि बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । उनीहरूलाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ कसुरअन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
केही दिनअघि सार्वजनिक भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा उच्च राजनीतिक नेतृत्वको लापरवाही रहेको निष्कर्ष निकालेको थियो। सोही निष्कर्षलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही हुन सक्ने उल्लेख गरिएको छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो प्रक्रिया अघि बढाइएको हो।












प्रतिक्रिया