ओली र लेखक पक्राउको समीक्षा गर्दै कांग्रेस, तरुण दलले जनायो विरोध


काठमाडौं – नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ ।

नवनिर्वाचित सांसदहरूका लागि शनिबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने जानकारी दिएको हो ।

जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने प्रवक्ता देवराज चालिसेले बताए ।

कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरुका लागि संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार ‘संसदीय सचेतना’ कार्यक्रम सुरू गर्दैछ । अहिले कांग्रेसका शीर्ष नेताहरू पार्टी कार्यालयमा बैठकमा सहभागी छन् ।

कांग्रेस भ्रातृ संस्था तरुण दलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै निन्दा गरेको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको उल्लेख गरेका छन् ।​

देशलाई अनावश्यक द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएकोमा तरुण दलले चिन्ता व्यक्त गरेको छ । ‘नेपाल तरुण दल वर्तमान सरकारलाई यस्ता निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न तथा राजनीतिक सहिष्णुता कायम राख कडा चेतावनीसहित ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा लेखिएको छ‚ ‘देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्‌भाव कायम राख्नु सबै पक्षको साझा दायित्व हो भन्ने हामी पुनः स्मरण गराउन चाहन्छौं ।’