प्रधानमन्त्री र मन्त्रीको मापसे र लापसे परीक्षण गर्न हर्क साम्पाङको माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीको दैनिक मापसे र लापसे परीक्षण गर्नुपर्ने बताएका छन् ।

हर्कले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिनुपर्ने माग गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् । ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे र लापसे चेक जाँच दैनिक गरिनुपर्दछ । साम्सदहरुको पनि गर्नुपर्छ । देशको स्वास्थको लागि यो अनिवार्य छ,’ उनले लेखेका छन् ।

वर्तमान प्रधानमन्त्री र मन्त्रीहरू मापसे र लापसे गर्ने रहेको भन्दै सामाजिक सञ्जालतिर चर्चा भएपछि हर्कले यस्तो स्टाटस लेखेको बताइन्छ ।