देउवा परिवार, ओली र प्रचण्डको सम्पत्ति छानबिन गर्दै सरकार


काठमाडौं । बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने भएको छ । पटकपटक सरकारमा हुँदा सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।

बालेन नेतृत्वको सरकारले सुरुदेखि नै देउवा परिवारको सम्पत्ति छानबिन गर्न लागेको हो । अनुसन्धानका क्रममा पछिल्लो समय शेरबहादुर र आरजु राणाका छोरा जयवीर देउवालगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको बताइएको छ। देउवा दम्पती अहिले सिंगापुर र हङकङमा छन् ।

जयवीर भने एक वर्षअघिदेखि फ्रान्समा बस्दै आएका छन् । जेनजी आन्दोलनको क्रममा जलेको देउवाको घरसमेत प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ। केही दिनदेखि देउवाको भग्नावशेष निवास भत्काउने काम अघि बढेको थियो । देउवा दम्पतीका साथै एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्ड, आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ। ्विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको छ। सोही पत्रका आधारमा सीआईबीले खड्कालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको छ भने आजै जिल्ला अदालतबाट म्याद थप गराउने तयारी गरिएको छ।