काठमाडौं । एमाले काठमाडौंले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोध र तत्काल रिहाइको माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन एमाले पूर्वसांसद तथा केन्द्रीय सदस्य रामेश्वर फुयाल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाको नेतृत्वमा सातजनाको समूह जिल्ला प्रशासन कार्यालय पुगेको हो ।
काठमाडौँमा एमाले नेता तथा कार्यकर्ताहरुको छुट्टाछुट्टै समूहले सिडिओ कार्यालयमा आधा दर्जनभन्दा बढी पत्र बुझाउने तयारी छ । एमाले कार्यकर्ताले आज पनि ओलीको रिहाइको मागसहित काठमाडौँमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नयाँ बानेश्वरतिर अघि बढेका उनीहरुलाई प्रहरीले बबरमहलमै रोकेको छ ।
ओली पक्राउको विरोधमा हिजो विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ताले आज देशैभर सम्बम्धित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदैछन् । जेनजी घटना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओली र तत्कालीन गृहमन्त्री लेखक शनिबार बिहान निवासबाटै पक्राउ परेका थिए ।
उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । अहिले काठमाडौं जिल्ला अदालतमा बहस जारी छ । आजै एमाले अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै उनकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी छन् ।












प्रतिक्रिया