बालेनले समय आउँछ भनेका थिए, बालश्रम शोषण आरोपमा समातिइन् एमाले सांसद शर्मा


काठमाडौं । बालेन्द्र शाह प्रधानमन्त्री भएको तीन दिनमै एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी छन् ।

बालिकालाई घरेलु श्रमिक बनाएर राखेको र कुटपिट गरेको कसुरमा उनलाई प्रहरीले आइतबार राति बालुवाटारस्थित घरबाटै पक्राउ गरेको हो ।

करिब दुई वर्षअघिको बालबालिकासम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

हालका प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिको मेयर हुँदा उनीविरुद्ध महानगरले उजुरी दिएको थियो । तर, तत्कालीन सरकारको दबाबमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो । कसुरमा नयाँ उजुरी परेपछि पक्राउ गरिएका एक प्रहरी अधिकारीले बताए । एमाले अध्यक्ष ओलीले शर्मालाई संरक्षण गर्दै आएका थिए ।

त्यसबेला बालेन्द्रले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’ बालेन्द्र अहिले आफैं प्रधानमन्त्री छन् ।

शर्माको बालुवाटारस्थित घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी बालिकको उजुरीमा उनीमाथि दुई वर्षअघि नै महानगरपालिकाले छानबिन गरेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले १४ जेठ ०८१ मा उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो ।

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकामा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो । जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन् । सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउन ०८१ मा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले सरकारको दबाबमा अनुसन्धानमा चासो दिएन । त्यसको बालेनले फेसबुकमार्फत नै सरकारको चर्को आलोचना गरेका थिए ।

उद्धारपछि बालिकाका बुबा छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दियो । सोहीअनुसार बालिका हाल महानगरको संरक्षणमा एक संस्थामा बसेर पढ्दै आएकी छिन् ।

महानगरको टोलीसँग बालिकाले भनेको नमान्दा शर्माले लाठी, पाइप, हातले शरीरमा कुटपिट गर्ने गरेको’ बताएकी थिइन् । घरमा उनले पोछा लगाउने, पानी भर्ने, भाँडा माझ्ने, घर सफा गर्ने, खाना बनाउने र बगैँचा सफा गर्नेलगायतका काम गर्नुपर्ने बताएकी थिइन् ।