काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का पार्टी विभाजनको दिशामा अघि बढेका छन् । निरन्तर कांग्रेसको विधान उल्लंघन गर्दै आएका खड्काले चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबारका लागि देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरुको बैठक बोलाएका हुन् । नेताहरूलाई टेलिफोनबाट बैठकमा उपस्थित हुन भनिएको छ । बैठक धुम्बाराहीको एक होटलमा बस्ने छ ।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए । छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।
खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए । आजै उनले २१ फागुनमा निर्वाचित प्रतिनिधिसभाका कांग्रेस सांसदहरुलाई बधाई दिन धुम्बाराहीको स्मार्ट होटल बोलाएका छन् । खड्काको यो कदमलाई जुनसुकै बेला कांग्रेस विभाजन हुनसक्ने आकलन गरिएको छ ।












प्रतिक्रिया